Skip to content
LAXMI SUNRISE BANK

तरकारीमा कर खारेजीले गृहिणीलाई राहत, रक्सी र चुरोटमा अन्तशुल्क वृद्धि हुँदा ‘जँड्याहा’ लाई पीर !  

अर्थ सरोकार

काठमाडौँ । प्रत्येक वर्षको बजेट भाषणले गृहिणीलाई बढी चिन्तित बनाउँथ्यो । किनकी महँगी वृद्धिले भान्सामा आलु, प्याज जुटाउन मुस्किल हुने गर्थ्यो । यसपटक भने बजेट भाषण सुनेपछि गृहिणीहरुले राहत महसुस गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा तरकारी तथा फलफूलमा लगाइने मूल्य अभिवृद्धि कर खारेज गरेको बताए । स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने हेतुले सरकारले यस्तो निर्णय लिएको उनको भनाई थियो । तर, मदिरा, बियर, सुर्ती र चुरोटलगायतमा भने अन्तःशुल्क दरमा वृद्धि गरिने वक्तव्यमा उल्लेख छ ।

शङ्खमूलकी शारदा भण्डारीले बजेट भाषण प्रत्यक्ष नसुने पनि अरुकै मुखबाट तरकारी र फलफूलमा कर खारेज भएको समाचार सुनेको बताइन् । सरकारको यो निर्णयले शारदा निकै खुसी छिन् । ‘वर्षैपिच्छे बजेट भाषणले भान्सा महँगिने चिन्ता हुन्थ्यो, यसपालि ढुक्क भएँ ।’, उनले भनिन्, ‘तरकारीको मूल्य बढ्दा सबैभन्दा तनाव हामी गृहिणीलाई हुन्छ ।’

घरमा कमाउने श्रीमान् भए पनि सीमित खर्चमै परिवार धान्नुपर्ने बाध्यता रहने उनले बताइन् । महँगी बढेमा कसरी पकाएर खुवाउने भन्ने तनाव यो पटक हटेकोमा उनले खुशी व्यक्त गरेकी छिन् ।

यता बुद्धनगरकी प्रियङ्का दाहालले बजेट भाषणको सबैभन्दा राहत दिने पक्ष भनेकै तरकारी र फलफूलमा कर खारेजी भएको सुनाइन् । घरको भान्सा सकेसम्म सस्तो हुनुपर्ने उनको बुझाइ छ । यसमा सरकारले मर्म बुझ्नुपर्ने हुँदा कर खारेजी प्रशंसनीय रहेको उनले बताइन् । तर, विचौलिया र कालोबजारीले गर्दा सस्तो तरकारी महँगोमा किन्नुपर्ने बाध्यता कसरी हट्ला भन्ने उनको चिन्ता छ । उनले गाउँमा १० रुपैयाँ मूल्य पर्ने टमाटर काठमाडौँमा महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको बताएकी छिन् ।

अघिल्लो वर्ष फलफूलमा १३ प्रतिशत भ्याट लगाउने नीति राखिएको थियो । १३ प्रतिशत भ्याटले रु ४० प्रतिकिलोको प्याजमा मूल्यवृद्धि भई रु ६० पुगेको थियो । अब भने त्यही १३ प्रतिशत भ्याट कर खारेजी पछि प्याज, आलुलगायत तरकारीको मूल्य सस्तो पर्ने व्यापारी बताउँछन् । 

नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव  प्रकाश गजुरेलले सरकारले घोषणा गरेको भ्याट खारेजीले नेपाली उत्पादनमा सहयोग पुग्ने बताए । ‘कर खारेजले स्थानीय किसानदेखि घरको भान्सासम्म राहत मिल्छ ।’, उनले भने, ‘हामीले धेरैपटक कर हटाउनुपर्छ भन्दै सरकारकासँग माग गर्दै आएका थियौँ । यसैको सुनुवाइ भएको हो ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK