काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा बैंकले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको हुदा बैंकको खुद नाफा बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.१० प्रतिशतले बढेको छ र खुद फि तथा कमिशन आम्दानी पनि १९.९१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३९.८६ प्रतिशतले बढेको छ ।
बैंकको निष्क्रिय कर्जा ३.१८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २ करोड ८९ लाख पुगेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा १२१.२२ प्रतिशतले बढेको हुँदा खुद नाफा पनि १ करोड ६४ लाखबाट बढेर ३ करोड ८६ लाख सम्म पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १८ पैसा बढेर ७ रुपैयाँ १८ पैसामा पुगेको छ ।
असार मसान्तसम्म ३ करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७९ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ ।
५३ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेकोबैंकको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।