काठमाडौँ । आफ्ना सिनियर हाकिमले आफुलाई आर्टिकल ट्रेनिङका क्रममा यौन दुर्व्यवहार गरेको भन्दै एक युवती प्रहरीकहाँ पुगेकी छिन् । सिएको तेश्रो तह क्याप थ्री अध्ययनरत हाल काठमाडौँ बस्ने ती युवतीले महिला सेलमा आफ्नो उजुरी दर्ता गराएकी हुन् ।
आफुले काम गर्ने सिए फर्ममा काम गर्दा आफुमाथि दुर्व्यवहार भएको ती युवतीको दाबी छ । प्रहरीले आफूकहाँ उजुरी दर्ता भएको पुष्टी गरेको छ ।
घटनापछि विभिन्न सिए फर्ममा पेन डाउन भएको छ । केहि सिए महिलाहरुले यस विषयमा पीडीत भनिएको युवतीलाई कानुनी उपचारमा सहयोग गरिरहेका छन् । प्रहरीले सुरुमा यो केस दर्ता नै गर्न मानेको थिएन । आवश्यक प्रमाण नभएको भन्दै केस दर्ता गर्न नमानेको प्रहरीले विभिन्न सिए महिलाहरुको सहयोगमा उजुरी दर्ता भने लिएको छ ।
यता आरोपित सिएले भने आफुले त्यस्तो दुर्व्यवहार नगरेको बरु घटनालाई अनावश्यक राजनीतिकरण गरेर आफ्नो प्रतिष्ठामाथि आँच पुर्याउनेगरी काम भएको दाबी गरेका छन् । उनले आफु अनुसन्धानमा सघाउने मात्र नभई आफ्नो चरित्र हत्या गर्ने केहि विरुद्ध कानुनी उपचारमा जाने तयारी गरेकोसमेत दाबी गरेका छन् ।
यसअघि पनि विभिन्न सिएहरुले आफ्ना कर्मचारीमाथि दुर्व्यवहार गरेको घटना बाहिरिएका थिए । तर कोहि पनि प्रहरीकहाँ नपुगेपछि ती केसहरु सतहमा आएका थिएनन् ।
घटनाबारे जानकारी प्राप्त गरेपछि सिए विद्यार्थीहरुको संगठन एनकासाले पनि आवश्यक पहल लिने बताएको छ । एनकासाले एक विज्ञप्ति नै जारी गरेर यौन दुर्व्यवहारको केसमा ‘जिरो टोलरेन्स नीति’ अवलम्बन गर्ने ढाडससमेत दिएको छ ।