काठमाडौँ । नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले काठमाडौँमा बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ । #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो ।
दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाहरूको लाभ कसरी उठाउने भन्ने बारे गहन प्रशिक्षण प्राप्त गरेका थिए ।
कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत् गर्न सकिने प्रबर्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको श्रृंखला प्रस्तुत गरेको थियो। सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको परिचय गराइएको थियो ।
उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएका थिए । त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो । कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्रहरूको डिजाइन गरिएको थियो ।
#GrowWithTikTok कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर पनि प्रदान गरेको थियो किनकि सहभागीहरूले उक्त कार्यशालामा विभिन्न उद्योगका साथीहरूसँग जोडिन, अनुभवहरू बाँड्न र साझा चुनौती र समाधानका बारेमा छलफल गर्ने मौका पाएका थिए । यस सहयोगी वातावरणले स्थानीय व्यवसायहरूबीच हार्दिकताको भावनालाई बढावा दिँदै थप साझेदारी र सामूहिक विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
यो पहल डिजिटल युगमा फस्टाउनका लागि आवश्यक पर्ने उपकरण र स्रोतहरू उपलब्ध गराएर विश्वभरका साना व्यवसायलाई सशक्त बनाउने टिकटकको फराकिलो प्रतिबद्धताको एक हिस्सा हो । साना तथा मझौला व्यवसायको क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पनि टिकटकले यसलाई प्रबर्धन गरेर नेपालको विकास यात्रामा आफू प्रमुख साझेदार बन्ने लक्ष्य राखेको छ ।