×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहाको गोलबजार नगरपालिकामा फर्जी कर्मचारी खडा गरी ७ महिनामा ४० लाख तलब निकासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिरहाको गोलबजार नगरपालिकामा फर्जी कर्मचारी खडा गरी ७ महिनामा ४० लाख तलब निकासा

Artha Sarokar

२६ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलब शीर्षकमा अनियमति रुपमा निकासा दिइएको रहस्य खुलेको छ ।

हाल सरुवा भएर श्रम विभाग काठमाडौं पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलब निकासा दिइएको र करिब ४० लाख रकम अपचलन भएको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताएका छन् । उनले भने-करिव २२ जना फर्जी कर्मचारी खडा गरी तलब खुवाइएको छ ।

उनका अनुसार अधिकृत केसीका नातेदार धन बहादुर केसीको नाममा मासिक २२ हजारका दरले ७ महिना लगातार तलब पठाइएको छ । धन बहादुर दाङ्गमै बसेर गोलबजार नगरपालिकाबाट महिनैपिच्छे तलब बुझिरहेका छन् ।

त्यस्तै, अधिकृत केसीका सानीआमाका कान्छा छोरा र बुहारी (गोलबजार नगरपालिका वडा नं. ७ का ) दुवै जनालाई काम नगरी गोप्य रुपमा ७ महिनासम्म तलब प्रदान गरिएको छ ।

अधिकृत केसीले गोलबजार नगरपालिका वडा नं. ३ मुसहर्नियाका ३ जना युवाहरुलाई अघोषित रुपमा आफ्नो सुरक्षामा खटाएर गोप्य रुपमा तलब उपलब्ध गराएको ती कर्मचारीले दावी गरे ।

त्यसैगरी नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफ्ना स्वजातीय बन्धु वान्धव र एमालेका कार्यकर्ताहरु करिब ७ जना र शेषर यादव नाम गरेका अर्का एक कार्यकर्तालाई कामै नगरी तलब खुवाएका छन् ।

मेयरकै सिफारिसमा चुनावताका आफूलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्रका नवीन लामालाई पनि कामै नगरी तलब दिइदै आएको छ । उप प्रमुख मान्ती साहका नातेदार अरुण साहलाई पनि कामै नगरी नियमित रुपमा तलब प्रदान गरिएको छ ।

बिना नियुक्ती फर्जी कर्मचारीको रुपमा तलब खानेहरुमा सन्तोष राय पनि छन् । उनी अधिकृत केसीको प्रियपात्र थिए ।

नगरपालिकामा कार्यरत इन्जिनियर जय किशोर साहले आफ्ना भाइ (काकाका छोरा) लाई विगत ७ महिनादेखि तलब खुवाएका छन् । जवकी उनले एक दिन पनि नगरपालिकामा काम गरेका छैनन् ।

त्यसैगरी, नगरपालिकामा कार्यरत लेखा प्रमुख गंगा मण्डलले पनि आफ्ना नातेदार रामकुमार शर्मालाई विगत एक वर्षदेखि कामै नगरी तलब निकासा दिलाएका छन् ।

प्राप्त जानकारी अनुसार गोलबजारको एक निजी अस्पतालमा कार्यरत अनील कुमार ठाकुर र वडा नं. १२ बलकवाको उप स्वास्थ्य चौकीमा कार्यरत तेज नारायण यादवकी पत्नी मन्दिरा देवी यादवको नाममा गत असोज २९ गते ४-४ महिनाको तलव निकासा दिइएको छ । मन्दिरा यादव गोलबजार स्थित जय गोविन्द साह पोली टेक्निकल इन्सिटिच्युटमा डि फर्मा अध्ययन गर्दै गरेकी छात्रा हुन् ।

‘ नगरपालिका भित्र मनमौजी छ । नियम कानूनको कुनै पर्वाह छैन । कार्यपालिकाको निर्णय नै भएको छैन । दरवन्दी सिर्जना गरिएकै छैन । तर पनि नियम मिचेर करार र ज्यालादारीमा सम्झौता गराएर कामै नगरी दर्जनौ व्यक्तिहरुलाई तलबनिकासा दिइन्छ । यो सरासर भ्रष्टाचार हो ।’ कार्यपालिका सदस्य फुलेस्वर नायकले भने ।

त्यस्तै, माओवादी केन्द्रका स्थानीय नेता रामचन्द्र सिंह भन्छन् मेयर आफैले आफ्ना आसेपासेलाई पाल्न गैर कानूनी रुपमा तलव खुवाएपछि हाकिम, इन्जिनियर , उप प्रमुख र लेखाले किन छाड्थे र ! सबैले तलव खाने सूचीमा आ–आफ्नालाई घुसाएका छन् । घोर अनर्थ र सरासर अपचलन गरिएको छ ।

‘आउँदो बुधबार हामी नगरपालिकामा जाँदैछौं । कथित कर्मचारी खडा गरी तलव खुवाएको देखिए नगरपालिकामा तालाबन्दी गर्छौ र दोषीहरुलाई निलम्वन गरेर कारवाही प्रकृया आरम्भ नगरेसम्म कार्यालय सञ्चालन हुन दिंदैनौ ।’ जनमत पार्टीका स्थानीय नेता रामप्रगेस महतोले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी