काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका हुन् ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरागर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाइएको छ ।
त्यस्तै, चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने छ । राष्ट्रसंघीय एजेन्सीसंग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपुर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए । युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पुरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउदाँ खुसी लागेको जनाए ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसंग गरिएको सहकार्य अति नै महत्वपुर्ण भएको उनले जनाए । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने चेभिलार्डले उल्लेख गरेका छन् । नेपालको हिमालहरुलाई जोगाउन तथा जलवायु परिवर्तन विरुद्ध चेम्बरसंग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।