काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्न माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले सार्वजनिक बिदा कटौती गर्न माग गरेका हुन् ।
उनले सार्वजनिक बिदा धेरै हुँदा सेवा प्रवाहमा कठिन भएको भएको भन्दै सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताएका छन् ।
वर्षमा दुई महिना शनिबार मात्रै पर्ने भएकोले अन्य सार्वजनिक बिदा कटौती गर्नुपर्ने सांसद सिंहको भनाई छ । अझ प्रदेश र स्थानीय तहहरुले आ–आफ्नै ढंगले बिदा दिने प्रवृत्ति बढेको भन्दै बढी बिदा हुँदा सेवाग्राहीलाई मर्का पर्ने उनको भनाई छ ।
त्यस्तै, सरकारी कार्यालयहरुमा खाजा खाने निहूँमा कर्मचारीले घण्टौँ बिताइदिने र सोही कारण सेवाग्राही मर्कामा पर्ने भन्दै कार्यालयहरुमा पनि खाजा खाने निश्चित समय तोकिनु पर्नेमा पनि सिंहले जोड दिएका छन् । साथै सांसद सिंहले कर्मचारीहरुलाई आफ्नो पद अनुसारको परिचय पत्र अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।