काठमाडौँ । हप्तामै दुई पटकजस्तो समस्या आउन थालेपछि र सेटलमेन्टमा निकै ठुलो समस्या आउन थालेपछि बैंकहरुले आफ्ना काउण्टरहरुमा इसेवाबाट भुक्तानी नलिन उर्दी जारी गर्न थालेका छन् । इसेवा वालेटमा पटक पटक समस्या आउँदा समग्र कारोबारमै असर परेको भन्दै विभिन्न बैंकहरुले घोषित र अघोसित दुवैगरी इसेवामार्फत भुक्तानी नगर्न आफ्ना ग्राहकहरुलाई अनुरोध गर्न थालेका छन् ।
यस्तै पछिल्लो उदाहरण हो हिमालयन बैंकले भद्रकालीस्थित संचालन गरेको काउण्टरमा राखिएको सूचना । भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पको काउण्टरमा ‘क्युआर क्यान हुन्छ, इसेवा हुँदैन’ भनी सूचना नै टाँस गरिएको छ । सो काउण्टरमा इसेवाबाट भुक्तानी नहुने थाहा पाएका ग्राहक हाल इसेवा काम छैन भन्दै बैंकको क्युआर प्रयोग गर्दै आएका छन् ।
यस विषयमा सो काउण्टरमा बसेका कर्मचारीको तर्क इसेवाका कारण निकै दुख पाउनुपरेको भन्ने छ । इसेवाचाहिं किन हुँदैन भनेको ? भन्ने हाम्रो प्रश्नमा ती कर्मचारीले भने, ‘इसेवा बिग्रिरहन्छ । कहिले के हुन्छ, के हुन्छ । यसबाट भुक्तानी नलिनु भन्ने छ ।’
यसो त विभिन्न रेष्टुरेन्टहरुले पनि सकेसम्म इसेवाबाट भुक्तानी नलिने गर्न थालिसकेका छन् । पटक पटक समस्या आउँदा सेटलमेन्टमै समस्या भएको भन्दै विभिन्न रेष्टुरेन्टहरुले इसेवाको सेवा लिन सकेसम्म छोडेका हुन् । केहि दिनअघिमात्र पनि इसेवामा हप्तामै दुई पटकजस्तो समस्या आएको थियो भने अझ केहि समयअघि त केहि दिन इसेवाको एप प्ले स्टारबाटै हटेको थियो ।
नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको भए पनि बैंक तथा वित्तीय संस्थामा मात्र केन्द्रित हुँदा, राष्ट्र बैंकले बलियो नियमन नगर्दा इसेवामा निकै ठुलो समस्या आउन थालेको छ । पछिल्लो समय ह्याक भएका बैंक खाताहरुमध्ये अधिकांसमा इसेवा लिंक हुने गरेकोसमेत पाइएको छ ।