काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका-६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका-९ की ३३ वर्षीया मुना सिलवाल रहेका छन् ।
उनीहरुलाई प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । दुवैजनालाई प्रहरीले एक महिनाअघि नै पक्राउ गरिसकेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दाय गरेपछि मात्रै घटना सार्वजनिक भएको हो । पक्राउ परेका शिवाकोटीले आफू परराष्ट्रमन्त्रीको स्वकीय सचिव भएको दाबी गर्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुविरुद्ध भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २०८० माघ १४ गते नै जाहेरी परेको थियो । जाहेरीका अनुसार उनीहरुले २०७९ बैशाख ११ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पीडितसँग ७ लाख रुपैयाँ बुझेका थिए । त्यसको केही महिनापछि फेरि उनीहरुले ५ लाख रुपैयाँ लिएकाको जाहेरीमा उल्लेख छ ।
विभिन्न समयमा गरी कुल १५ लाख ७६ हजार रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले अमेरिका पुग्दासम्म कुल खर्च ४५ लाख रुपैयाँ लाग्ने बताएका थिए ।
शिवाकोटी दम्पतीले ठगी गरेको १५ लाख ७६ हजार रुपैयाँ बराबरको क्षतिपूर्तिसमेत दिलाउन माग गर्दै रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो । उक्त मुद्दामाथि आज (सोमबार) बाट अदालतमा थुनछेक बहस हुँदैछ ।