काठमाडौँ । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा बिहीबारदेखि दोस्रो संस्करणको मःमः महोत्सव सुरु भएको छ । यही पुस २७ गतेसम्म आयोजना हुने महोत्सवमा ४० भन्दा बढी प्रकारका मःमःको स्वाद लिन पाइनेछ । सिद्धार्थले पहिलो संस्करणको मःमः महोत्सव गत वर्षको माघ ११ गतेदेखि १३ गतेसम्म आयोजना गरेको थियो ।
महोत्सवमा विभिन्न प्रकारका मःमःको स्वादसँगै विभिन्न कलाकारहरुको प्रस्तुति समेत हेर्न पाइनेछ । महोत्सवको पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिइनेछ । सोहीअनुसार आज मोहिनी दिलीप पौडेलको टोलीको नृत्य प्रस्तुति रहनेछ ।
दोस्रो दिन नेपालगञ्जकै स्थानीय लाइभ ब्यान्ड ‘द समय’ ब्यान्डको प्रस्तुतिसँगै मःमः मेकिङ एण्ड कुकिङ प्रतियोगिता पनि आयोजना हुनेछ । प्रतियोगितामा इच्छुकले निःशुल्क सहभागिता जनाउन सक्ने जनाइएको छ ।
त्यस्तै, महोत्सवको तेस्रो तथा अन्तिम दिन राष्ट्रिय तथा स्थानीय कलाकार प्रस्तुतिसँगै कम्युनिटी कुकिङ प्रतियोगिता समेत आयोजना हुनेछ । उक्त दिन राष्ट्रिय कलाकार पशुपति शर्माले प्रस्तुति दिने कार्यक्रम रहेको जनाइएको छ ।
सिद्धार्थ कटेज नेपालगञ्ज नेपालगञ्जकै सबैभन्दा ठूलो स्पेस भएको रेस्टुरेन्ट हो । सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चार तारे लग्जरी होटल सिद्धार्थका साथै मुलुकका विभिन्न स्थानमा होटल, रिसोर्ट, क्याफेसहित ३० वटा आउटलेट सञ्चालन गर्दै आएको छ । सिद्धार्थले आगामी दुई महिनाभित्रमा धनगढी र बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालनमा ल्याउँदैछ ।
साथै भारतको बहराइचमा पनि तारे होटल सञ्चालन ल्याउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।