काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरूमा ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसरमा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सम्पत्ति शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराइएको थियो ।
यस कार्यक्रममा कार्यान्वयन अधिकृत रञ्जु लम्सालले प्रस्तुतीकरण गरेकी थिइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता र न्यूनिकरणबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरूको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।