काठमाडौँ । सरकारी कर्मचारी घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अदालतले समेत समर्थन जनाएको छ । सरकारी कर्मचारीको आकार घटाउने ट्रम्पको योजनामा समर्थन जनाउँदै संघीय अदालतले प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट हटाउने तयारी गरेको छ । यसको घोषणा अमेरिकाको ‘सरकारी दक्षता विभाग’का निर्देशन एलन मस्कले गरेका थिए ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरुलाई राजिनामा दिन दबाबसहितको इमेल पठाएको थियो । जसमा हालसम्म करिब ६५ हजार भन्दा बढी कर्मचारीले इमेलको जवाफ फर्काएका छन् । उनीहरुले ट्रम्प प्रशासनको इमेल सन्देशमा सहमति जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इमेलमार्फत ट्रम्प प्रशासनले राजिनामा दिन दबाब दिएपछि अमेरिकाको कर्मचारी युनियन अदालत गएको थियो । तर, अदालतले ट्रम्प प्रशासनकै निर्णयमा सहमति जनाएको छ ।