Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणमा भ्रष्टलाई अध्यक्ष नबनाऊ (सम्पादकीय)

अर्थ सरोकार

काठमाडौँ । तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा परेपछि अहिले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षविहीन छ । र नयाँ अध्यक्ष चुन्ने प्रक्रिया पनि लगभग अन्तिम चरणमा छ । आइतबार मात्रै नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्टमा सार्वजनिक भएको छ । आइतबार बसेको नेपाल सरकार समक्ष नाम सिफारिस समितिको बैठकले ५ जनाको नाम सर्टलिस्टमा राखेर सार्वजनिक गरेको हो । 

सर्टलिस्टमा पर्नेहरुमा प्राधिकरणकै निर्देशक पार्टीगत हिसाबले केपी ओलीकै गाउँलेसमेत रहेका कमल प्रसाद रेग्मी, प्राधिकरणका पूर्वअध्यक्ष, पार्टीगत हिसाबले २४ क्यारेट माओवादी डा. चिरन्जिवी चापागाईं, नेपाल स्वास्थ्य बीमा बोर्डका निवर्तमान अध्यक्ष, कृषि विकास बैंकका अध्यक्ष, पूर्व राजस्व सचिव र पार्टीगत हिसाबले झन् कट्टर एमाले रामशरण पुडासैनी, पार्टीगत हिसाबले कांग्रेसी पूर्व पत्रकार शरद ओझा र डा. दामोदर बसौला रहेका छन् ।

पार्टी र पावर नहेरी ‘योङ एन्ड एनर्जेटिक’लाई अध्यक्ष बनाउने हो भने शरद ओझा निर्विकल्प छन् । उनी निकै खारिएका पूर्व पत्रकार मात्र होइन, भर्खरका देश भेष बुझेका व्यक्ति हुन् । पढाईमा अब्बल, ज्ञानमा उसै अब्बल । उनी प्राधिकरणका लागि उचित पात्र हुन सक्छन् । यसो त अरु सबै एमाले र माओवादी, उनी एक्लै काँग्रेसका शुभचिन्तक भएकाले काँग्रेसको भागमा प्राधिकरण आए उनी निर्विकल्प पात्र हुन् ।

बजारमा चर्चा यस्तो छ कि नेपाल राष्ट्र बैंकका गभर्नर एमालेको भागमा र प्राधिकरणको अध्यक्ष काँग्रेसको भागमा परेको छ । यस्तो हो भने प्राधिकरणमा शरद द ओझा नै अध्यक्ष बन्नेछन् । अझ ओझाकै लागि कार्यविधि संशोधन गरिएको चर्चाले पनि उनको सम्भावनालाई बल पुग्छ । 

अचम्म त के छ भने २४ क्यारेट माओवादीका रुपमा परिचित डा. चिरन्जीवी चापागाइँ पनि यो लिस्टमा छन् । हुन त डाक्टर भएकै कारण अलि बढी नम्बर आएर उनलाई अन्तिम ५ मा पारिएको हुनसक्छ । नभए कोरोना बीमाजस्तो बीमा क्षेत्र नै बदनाम गराउने बीमा योजनाका योजनाकार, माओवादी नेता कृष्ण बहादुर महराका खास मान्छे यो लिस्टमा किन पारियो भन्ने प्रश्न उठेको छ । यति बुझदा हुन्छ, कथम कदाचित उनी अध्यक्ष भए भने माओवादी पुनः सरकारमा जाने अभ्यास सुरु हुँदैछ । 

बाँकी सबै एमाले टोली हुन् । हुन त केपी शर्मा वलीले सिध्याउनुपरे भीम रावल र माधव नेपाल बनाउँछन्, आफ्नालाई बनाउनुपरे उधुम बनाउँछन् भन्ने विषय अब घाम जतिकै छर्लङ्ग छ । त्यसैले पनि ओलीको आशिर्वादले एमालेमध्येकै कोही प्राधिकरणको अध्यक्ष बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न । यसअघि धितोपत्र बोर्डमा पनि मान्छे एउटा पार्टीको सिफारिस अर्को पार्टीको जस्तो भएको थियो । प्राधिकरणमा पनि त्यसै नहोला भन्न सकिन्न । उनीहरुको अन्तर्वार्ता १० गतेका लागि तोकिएको छ । त्यसपछी ३ जना सिफारिस भएकामध्ये एक जनालाई क्याबिनेटले अध्यक्ष बनाउनेछ । 

जो आओस्, प्राधिकरणमा अब भ्रस्ट मान्छे नआओस् भन्ने कामना गरौँ । जो आउँछ, उसले बीमाका बिकृती कम गर्ने प्रयास गरोस् । जो आओस्, बीमा दाबीका लागि अदालत धाउनुपर्ने बिमितको नियतिको अन्त्य गरोस । जो आओस्, कम्पनीसँग मालपानी लिएर उजुरी पचाउने नगर्ने खालको आओस् । जो आओस्, बीमा प्राधिकरणलाई अब्बल नियामक बनाउने खालको आओस । जो आओस्, घुस नखाने आओस् । र जो आओस्, बीमा क्षेत्रलाई अब्बल बनाउनेगरी आओस् ।

हुन त बीमा प्राधिकरणको अध्यक्ष बन्न पैसा नबुझाई हुन्न भन्ने कुरा ओपन सेक्रेटजस्तै छ । अध्यक्ष पदकै लागि करिडौँको अघोषित बोलकबोल हुने गरेको छ । यसपाली यस्तो नहोस भन्ने कामना गरौँ । कामना गरौँ तर भर नपरौँ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK