काठमाडौँ । कामना सेवा विकास बैंकले स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । बैंकले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको हो ।
तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका प्रारम्भिक लक्षणहरू, जस्तै स्तनमा गाठा, स्तनमा साना-साना पोर्स, स्तनमा कोठी जस्ता देखिने बारेमा जानकारी दिँदै, समयमै परीक्षण र उपचार गरिएमा स्तन क्यान्सर सफलतापूर्वक निको हुन सक्ने कुरा स्पष्ट पारे ।
त्यस्तै, स्तन क्यान्सर केवल महिलामा मात्र नभई पुरुषहरूमा पनि देखिन सक्ने समेत उल्लेख गरे । यदि प्रारम्भिक चरणमै स्तन क्यान्सर पहिचान गरिएर उपचार सुरु गरिने हो भने यो रोग पूर्ण रूपमा निको पार्न सकिने सम्भावना धेरै रहने जानकारी पनि गराए । तालिमको क्रममा बैंकका क्यान्सर विजेता कर्मचारीहरूले आफ्नो जीवनका अनुभवहरू सुनाउँदै सबैलाई हरेक ५-६ महिनामा स्तन क्यान्सरको नियमित परीक्षण गराउन समेत प्रेरित गरे । उनीहरुले आफ्नो परिवार र आफन्तजनको माया र उच्च मनोबलले रोगलाई जित्न उत्प्रेरित गरेको पनि बताए ।
कामना सेवा विकास बैंकले यस्ता स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्ने जनाएको छ । यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मात्र होइन, सम्पूर्ण समाजमा क्यान्सर सम्बन्धी सचेतना फैलाउन र यसप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।