काठमाडौँ । सिमेन्टमा भएको मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उक्त रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ ।
रिटमा गत कार्तिक १ गतेसम्म ओपीसी सिमेन्ट प्रतिबोरा (करसहित) ४ सय ७२ रुपैयाँ पर्ने गरेको भए पनि मंसिर १७ गतेसम्म आइपुग्दा प्रतिबोरा (करसहित) ६ सय ३० रुपैयाँ पुगेको रिटमा दाबी गरिएको छ । साथै सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न पनि रिटमा माग गरिएको छ ।
सांसद अन्सारीले सिमेन्ट उद्योगीहरुले कच्चा पदार्थको कृतिम अभाव देखाएर सरकारसँगको मिलेमतोमा मूल्यवृद्धि गरिएको दाबी गरेका छन् । सिमेन्टमा भएको मूल्यवृद्धि सार्वजनिक चासोको विषय भएकाले पनि यो विषयको अन्तिम किनारा नलाग्दासम्म सिमेन्टको मूल्य पहिलेकै उचित मूल्यमा उपलब्ध गराउन पनि रिटमा माग गरिएको छ ।