काठमाडौँ । अमेरिकाले नेपालमा सञ्चालित ३४ कार्यक्रम बन्द गरेको छ । अमेरिकी अनुदानमा सञ्चालित ३४ कार्यक्रम अमेरिकाले खारेज गरेको हो ।
अमेरिकी अनुदानमा सञ्चालित विभिन्न कार्यक्रमसँगै नेपालमा व्यापक चर्चा बटुलेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गतका कार्यक्रम पनि अमेरिकाले खारेज गरेको छ । जसअन्तर्गत ३२ करोड ४९ लाख २९ हजार ५ सय १६ अमेरिकी डलर (४५ अर्ब ४३ करोड रुपैयाँ) का कार्यक्रमहरु बन्द भएको अमेरिकाले जनाएको छ ।
यसरी अमेरिकाको स्वार्थ विपरीत अर्बौं डलर खर्च हुने गरेको भन्दै यस्ता कार्यक्रम बन्द गरिएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यस्ता कार्यक्रम बन्द गर्ने घोषणा गरेका थिए ।
अमेरिकाका अनुसार पछिल्लो ६ सातामा विश्वभरका ६ हजार २ सयमध्ये ५ हजार २ सय कार्यक्रम रद्द गरिसकिएको छ । त्यस्तै, हाल नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत एमसीए नेपाल परियोजना सञ्चालनमा छ । तर, अहिले यो कार्यक्रम भने स्थगित गरिएको छ । यद्यपि यूएसएड लगायतका अन्य कार्यक्रम बन्द हुँदा त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने विश्लेषण गरिएको छ ।