काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओमा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिइओमा लुँइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नेप्सेको सिइओका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएका थियो । जसमध्ये चुडामणि चापागाईं, नारद लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका थिए । त्यसमध्येबाट सिइओमा लुइँटेल छानिएका छन् ।
लुइँटेललाई सेयर खेलाडीहरुकै जोडबलमा नेप्सेको सिइओ नियुक्त गरिएको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार नेप्सेको सिइओ नियुक्तिका लागि लुइँटेलको नभएर अर्कैको नाम प्रस्ताव गरिएको थियो । तर, सेयर खेलाडीको जोडबलमा अन्ततः सरकारले लुइँटेललाई नै नेप्सेको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका लुइँटेल तारागाउँ विकास समितिको पूर्वअध्यक्ष र सदस्य सचिव हुन् । उनले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।