Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई बिक्री खुला

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवर्द्धन तथा सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुने बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री मंसिर २ गतेदेखि खुला भएको छ ।

योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ । मागअनुसार यसको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ । यस योजनाको अवधि १० वर्ष रहेको छ भने इकाई खरिदका लागि मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा मंसिर १६ गतेसम्म निष्काशन खुला रहनेछ ।

सिटिजन्स सुपर ५० को मुख्य उद्देश्य उत्कृष्ट तथा लगानीयोग्य ५० वटा कम्पनी छनोट गरी तिनको सेयरमा लगानी गर्नु रहेको छ । विविधीकृत पोर्टफोलियो निर्माण गर्दै व्यावसायिक लगानी व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल हासिल गर्ने लक्ष्य योजनाले राखेको छ ।

यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मेरो शेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । इकाई बाँडफाँडपछि योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

योजनाको कायम आकारको १५ प्रतिशत अर्थात् बीज पुँजी सिटिजन्स बैंक इन्टरनेसनलले लगानी गर्नेछ । सिटिजन्स क्यापिटलले यसअघि व्यवस्थापन गरेका सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल दिएको जनाएको छ ।

सामूहिक लगानी कोष व्यवस्थापनमा अनुभव हासिल गरेको सिटिजन्स क्यापिटलले नयाँ योजनालाई पनि व्यावसायिक तथा व्यवस्थित ढंगले सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK