काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय अंगद कुमार जोशी, ४७ वर्षीय जगदिश्वर पनेरु र ३३ वर्षीय नर माया कार्की रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये अंगद कुमार जोशीले एक जनालाई जापान पठाउने भन्दै ११ लाख ६० हजार रुपैयाँ, जगदिश्वर पनेरुले एक जनालाई क्रोएसिया पठाउने भन्दै दुई लाख रुपैयाँ र नर माया कार्कीले पनि एक जनालाई क्रोएसिया पठाउने भन्दै एक लाख ९९ हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।