काठमाडौँ । अलि बर्ष अगाडीको कुरा हो, ज्यानमा के नमिले नमिलेजस्तो भएपछि फुल बडी चेकअप गर्न श्यामबहादुर डाक्टरलाई भेट्न पुग्यो । उसको शरीर सबै जाँचेपछि र उसबारे केहि कुरा खोतलेपछि डाक्टरले भने- ‘अवदेखि तपाईं रक्सी कम पिउनुस्, वा सकेसम्म कम पिउनुस्, बाहिरको खाने कुरा निकै कम खानुस्, सकेसम्म घरकै खानुस्, रेष्टुरेन्टहरुको नखानुस्, जंक फुड त झनै नखानुस्, साथीभाइसँग रमाइलो गर्ने बहानामा खाईपीई नगर्नुस् । यति गर्नुस् सबै ठिक हुन्छ, अनि अर्को महिना भेट्न आउनुस्, तपाईंलाई के भएको छ त्यसपछि भनौंला ।’ श्यामबहादुर झस्कियो । ओहो ! ज्यानमा धेरै कुरा बिग्रेको रहेछ कि भन्ने लागेर श्यामबहादुरले रक्सी नखाने निर्णय गर्यो । रक्सी र सेकुवा खान मात्र बोलाउने साथीहरुसँग आउजाउ बन्द गर्यो । पानी पर्लापर्ला जस्तो बेलामा पनि पनि रक्सी नै खाने, पानी पर्दा पनि रक्सी खाने, ओहो पानी कहिले पर्छ होला भनेर पनि रक्सी नै खाने साथीहरुको संगत बन्द गर्यो । बाहिरका कुराहरु केहि पनि खाएन, जंक फुड पूरै बन्द गर्यो । यति भएपछि एक महिनापछि उसले डाक्टरलाई भेटेर भन्यो, ‘तपाईंले भने अनुसार नै सबै गरें, अहिले फ्रेश महसुस भएको छ । मेरो ज्यानमा खास कुन भिटामिन, प्रोटिन वा केको कमी भएको थियो ? त्यसपछि डाक्टरले भन्यो, तपाईंको ज्यानमा होइन, तपाईंको तलव कमी थियो । अव फजुल खर्च सबै जोगियो, तपाईंको ज्यानसँगै जिन्दगी पनि यहि तलवमा अव राम्रो हुन्छ ।’ श्यामबाहादुर झस्किएनमात्र उसले, कमाएको कति धेरै खर्च फजुल हुने रहेछ र बचतको महत्व के रहेछ भन्ने बुझ्यो । र आज हामी बचतको यस्तै महत्वबारे चर्चा गर्नेछौं ।
जागिरे होस् वा व्यापारी, सबैको समस्या छ, पैसा बच्दै बच्दैन ।
जति, जस्तो र जहाँ जागिर खाए पनि जागिरेको तलव बच्दै बच्दैन । तलव आएको दिन, ओहो पैसा त आयो त जस्तो लाग्ने नै भयो । तर घर नहुनेले घरभाडा बुझाउनुपर्यो, रासनपानीको पैसा तिर्नै पर्यो । ऋण लिईएको छ भने ब्याज र किस्ता हाल्नैपर्यो, घरखर्च अलिअलि राख्नैपर्यो, जागिर खाएको साथी भन्छन्, दुई चार पटक खाजाको पैसा आफुले तिर्नैपर्यो । फेरि बजारमा राम्रा कपडा र तलव एकै पटक आउँछन्, कि आफुलाई कि श्रीमतीलाई, कि प्रेमिकालाई किनिदिनैपर्यो, कलेज फी तिर्नुपर्यो, स्कुटर वा गाडीमा तेल सबै अफिसले हालिदिदैन, त्यता पनि तिर्ने पर्यो । यता गर्यो, उता गर्यो, पैसा हुन्छ स्वाहा । अनि तलव आएको एक सातामै ठण्डाराम भएपछि अर्को महिना कुर्नुको विकल्प नै भएन । अर्को महिना पनि उही हो ताल । अनि बर्षौं बर्ष काम गर्यो, कमाइस् के भन्दा खै के खै के ।
बजारमा जागिरेहरुले व्यापारीको कमाई बढी देख्छन्, तर व्यापारीको हालत जागिरेको भन्दा बेहाल छ यतिबेला बजारमा । स्टाफलाई त तलव कहिले आउँछ ? भनिदिए भइगो, बिक्री छोडौं बोहोनीसमेत भएको हुँदैन, तलव दिने बेला आईहाल्छ, बिक्री ठप्प भएर के गर्नु ? घरभेटीले एक गते भाडा नबुझाए, भएको अलिअलि व्यापार पनि ठप्प नै हुन्छ । कमायो , कमायो, कमायो, घरभेटी पाल्यो, स्टाफलाई बुझायो, स्वाहा । अलिअलि बचेकुचेको पैसा कर भन्यो, के जाति भन्यो सकियो । अझ दिनमा केहि आएनन् भन्दा पनि १० जना त माग्ने नै आउँछन् । स्टाफ र आफुलाई खाजा भन्यो, खर्च भन्यो, सकियो । व्यापारीको हालत पनि बिजोग नै छ ।
तर आखिर किन यस्तो भईरहेको छ त ? के जागिरेको तलव कम नै भएको हो वा खर्च बढी भएको हो ? व्यापारीले कमाउँदै नकमाएका हुन् वा कहीं कतै केहि नमिलेको हो ? यसको सिधा जवाफ हो, जागिरेको तलव कम भएको होइन, व्यापारीले नकमाएका होइनन्, बिग्रेको व्यवसाय मात्र होइन, बचतको बानी पनि हो, आर्थिक योजनाको कमी पनि हो । र हुनुको पछाडीको कारण भनेको बचत किन गर्नुपर्छ भन्ने तथ्य नबुझेर पनि हो । अव बुझौं, किन बचत गर्नुपर्छ, र कसरी बचत हुन्छ भन्ने कुरा ।
सुरुमा तलवी कर्मचारीहरुकै कुरा गरौँ । काठमाडौँ शहरमा महिनाको १० हजार कमाउनेहरुले पनि भात खाएकै छन्, काममा गएकै छन्, घरभाडा तिरेकै छन् । लाखौँ कमाउनेहरुको गोजी रित्तो पनि देखिएको छ । यसको कारण हो कमाउनु तर नजोगाउनु वा फुर्मास बढी खर्च गर्नु ।
मानौं तपाईं महिनाको ३० हजार कमाउनुहुन्छ । सोच्नुस त तपाईंको पैसा कति फुर्मासमा खर्च हुन्छ । बजारमा आएका सबै कपडा तपाईंले लगाउनैपर्छ भन्ने कहाँ लेखेको छ ? ३० हजार कमाई हुनेले छिर्यो कि ३००० खर्च हुने रेष्टुरेन्टहरुमा जान किन आवश्यक पर्यो ? इलाईट हुने पनि समय आउँछ, संघर्ष गरिरहेका बेला यस्ता कुराबाट बच्नुपर्छ । ३० हजार कमाई हुनेले किन खानुपर्यो दिनहुँ एक पेग ? किन खर्च गर्नु पर्यो जंक फुडमा ? एक पटक सोच्नुस त तपाईंलाई नचाहिने सबै खर्च कटौती गर्ने हो भने त तपाईंको आधा पैसा जोगिन्छ । कमाउने ३० हजार अनि बस्नुपर्यो किन महँगो भाडा भएको घरमा ? जिन्दगी लामो छ, हिजो १०–२०–३०–४०–५० हुँदै महिनाको लाख बढी कमाउने दिन आईहाल्छ नि । आज लाख कमाउनेहरुले पनि हिजो लाख नै बाट सुरु गरेका हुँदै होइनन् । तपाईंले पैसा नकामाउनु भएको होइन, नजोगाउनुभएको हो । यसतर्फ तपाईं सचेत हुनुपर्छ ।
अव व्यापारीका कुरा गरौँ, व्यापार छैन १० हजारको किन राख्नुपर्यो १५ हजारका दुई स्टाफ ? एक दिन हुन्छ कि भनेर राख्नु अगाडी बजार विश्लेषण गर्नुपर्दैन र ? अहिले मन्दीको समयमा किन लिनुपर्यो ६० हजार भाडाको सटर ।अनलाइनमा काम गर्न सकियो, वा सस्तो भाडा भएको ठाउँलाई राम्रो ब्राण्ड बनाउन सकियो, स्टाफ कटौती गरेर आफुले थप मेहेनत गर्न सकियो । गर्न केहि नगर्ने, अनि पैसा कमाईएन भनेर हुन्छ त ? हुँदैन । बचत जरुरी छ, तपाईंले गर्नुपर्छ ।
अव किन बचत गर्नुपर्छ भन्नेतर्फ लागौं । बचत गर्नुका धेरै फाइदा छन्, जसले वित्तीय सुरक्षा मात्र होइन, भविष्यका योजनाहरूलाई पनि सहज बनाउँछ। भईपरी आउने कुरामा सहयोग गर्छ । अनि खाने बेलामा जागिर खाएको छ, गर्नेबेलामा लाख करोडको गफ दिएर व्यवसाय गरेको छ, १० हजार निकाल न त भन्दा छैया, यसरी हुन्छ ? अव बुझौं बचत किन आवश्यक छ ?
१. आकस्मिक आवश्यकताका लागि सुरक्षा
ज्यानमा ज्वरो, भूमिमा भुईचालो, सडकमा दुर्घटना, र ग्रहमा दशा बाजा बजाएर आउंदैन । तपाईंलाई अचानक जे पनि हुन सक्छ, स्वास्थमा समस्या भईहाल्यो भने अस्पताल जानैपर्यो । बचत नभए कहाँबाट पुर्याउने पैसा ? सरसापटीले त झन् भोलिका दिनमा झन् पिरोल्छ । त्यसैले बचत गर्न आवश्यक छ । यो देशम र जागिरको खासै भर हुन्न । आजकल त जाडो नआई जाडो गएको त थाहा नै पाउनुभयो होला । जागिर पनि कुन दिन अफिसमा एउटाले के गल्ती गर्छ, हाकिमले झोकमा तपाईंलाई पनि निकालिदिन सक्छ । अझ अहिले आईएनजीओमा भएजस्तै अमेरिकामा ट्रम्पलाई झोक चल्छ, यता तपाईंको जागिर चट् । अनि यस्तो बेला बाँच्नु परेन ? त्यसैले पनि बचत जरुरी छ ।
२. भविष्यका ठूला योजनाहरू सहज बनाउँछ
जागिर खाएको कति बर्ष भयो, एउटा घर खोइ ? भन्ने प्रश्नको सामना गर्ने दिन ४० कटेपछि आईहाल्छ । बजारमा एकै बर्ष दुई अटो शो हुन थालिसके, एउटा गाडी किन्न मन लाईहाल्छ । बच्चाहरु पढाउनै पर्यो, विहे, ब्रतबन्ध, पास्नी, अनेक काम रितिथिति अनुसार गर्नु परिनै हाल्यो, अनि बचत नभए कसरी खर्च गर्ने ? त्यसैले पनि बचत जरुरी छ ।
३. ऋणबाट बच्ने अवसर
भईपरी आउने काम गर्नै पर्यो । बचत नभए सापटी वा ऋणले व्यवहार मिलाउनैपर्यो । ऋण लिएपछि ब्याजको झन्झट हुने नै भयो । अनि त्यो ऋणले कति बर्ष पिरोल्ने हो थाहा छैन । अनि, ऋणबाट बच्न बचत नगरेर भो त ?
४. मानसिक शान्ति र आत्मनिर्भरता
जीवनमा जति पैसा कमाए पनि, जे जति प्रगति गरे पनि मानसिक शान्ति भएन भने त्यसको के अर्थ भयो र ? बचत गर्दा आत्मविश्वास बढ्छ, केहि गर्छु भन्ने आँट आउँछ । यति पैसाका लागि त कसैको अगाडी हात पसार्नु पर्दैन है भन्ने विश्वास बढ्छ । त्यसैले पनि बचत गर्न जरुरी छ ।
५. जागिर पछिको जीवन थप सुरक्षित बनाउँछ
काम गर्यो, गर्यो गर्यो, गर्यो, जागिर छोड्ने बेलामा ठण्डाराम भईयो भने, त्यो जतिको काम नलाग्ने मान्छे हाम्रो समाजमा कोहि हुन्छ त ? केहि बर्ष काम गरिसकेपछि जिन्दगी जिउनु पनि त पर्यो । घुमघाम गर्नु पर्यो, रमाइलो गर्नुपर्यो, त्यसका लागि पनि त पैसा चाहिन्छ । अव छोराछोरीको पारा उही हो, सबैको त्यस्तै नभए पनि, धेरैको समस्या यहि हो, छोराले बुहारी पाएपछि उसकै सुर, छोरीले ज्वाई पाएपछि उसकै सुर । यस्तो कसैको नहोस्, तर तयारी त गर्नुपर्यो नि होइन र ? बुढेसकालमा किन अरुको अगाडी हात फैलाउने ? होइन र ? त्यसैले पनि बचत गर्न जरुरी छ ।
६. रुची वा कमाई हुने ठाउँमा लगानीका अवसरहरू सिर्जना गर्न बचत आवश्यक छ ।
जागिर खायो, तलव आयो, सकियो, स्वाहा । यसरी त कुनै बेला पैसा चाहिने हुँदा कहाँबाट ल्याउनु । आजकल बजारमा सेयर बजारमा लगानी गर्ने ट्रेन्ड छ, कसैलाई सानो भए पनि चिया दोकान खोल्न मिल्ला, कसैलाई अरु रुची अनुसारको व्यवसायमा प्रवेश गर्न मन लाग्ला । केहि नयाँ गर्न मन लाग्ला । अनि पैसा कहाँबाट ल्याउने ? कमाएको जति पैसा खायो, लगायो, तिरोतारो गर्यो, सकियो भईहाल्छ । त्यसैले पनि बचत गर्न जरुरी छ ।
७. आर्थिक अनुशासनका लागि पनि बचत आवश्यक छ ।
पैसाको बचत भनेको सिधा आर्थिक अनुशासनसँग जोडिन्छ । र त्यहि मान्छेले प्रगति गर्छ, जो आर्थिक अनुसासनमा बस्छ । खर्च र आम्दानीलाई सन्तुलन गरेर बचत गरे, उ नै सफल हुन्छ । त्यसैले पनि बचत गर्न आवश्यक छ । अँ साच्चै, बचतचाहिं बैंकमै गर्नुहोला है, फेरी हाम्रो भेट आन्दोलनतिर होला । मिटर ब्याजको लोभमा परेर वा अरु केहि लोभमा परेर साथीभाईलाई सकेसम्म सापटी दिनुभन्दा अघि १० पटक सोच्नुहोला । (भिडियो)