काठमाडौँ । होटल सारथी प्रा.लि.ले आइपीओ जारी गर्ने भएको छ । होटलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।
होटल सारथीले आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालको पुँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् ।
२०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तब्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । जहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
१९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म संचालनमा रहेको छ भने रोप साइक्लिङ्ग, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ । भविष्यमा आफ्नो ब्राण्डलाई अन्य प्रमुख पर्यटकीय गन्तब्यहरुमा समेत विस्तार गर्ने लक्ष राखेको यस समूहले चितवनको सौराहामा आफ्नो दोश्रो प्रोपर्टी संचालनमा ल्याइसकेको छ ।