काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि जानकारी दिँदै नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वार्षिक नीति तथा कार्यक्रमका विषयमा छलफल भएको जानकारी गराएका हुन् ।
उनले सत्ता सहयात्री दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्यमुख्य विषयवस्तुमा महत्वपूर्ण सुझाव दिएको बताएका छन् ।
ज्ञवालीले ।लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणहरूबाट भइरहेका हमला तथा आक्रमणहरूलाई सामूहिक रूपले जवाफ दिने विषयमा पनि छलफल गरिएको बताएका छन् । उनले विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र उच्च प्राथमिकीकरण गर्ने विषयमा सत्ता सहयात्री दलहरूबाट सुझाव प्राप्त भएको जिकिर गरेका छन् ।
सत्ता गठबन्धनले युवापुस्तामा आशा र विश्वास जगाउन उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना र बजार संरक्षणको समग्र योजनासहितको कार्यक्रम चाहेको समेत उनले स्पष्ट पारेका छन् ।
त्यस्तै, सत्तारुढ दलहरूले अर्थतन्त्रलाई लयमा ल्याउनको निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल खर्चहरूलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षतालाई बढाउने विषयमा पनि छलफल गरेका छन् । सुशासनलाई प्रभावकारी बनाउने, वाह्य सम्बन्धहरूलाई थप सुदृढ गर्ने, बसाईंसराईहरूलाई रोक्नको निम्ति पहाड केन्द्रित कार्यक्रमहरूलाई नीति तथा कार्यक्रममा समेट्न दलहरूले सुझाव प्रस्तुत गरेको एमाले उपमहासचिव ज्ञवालीले बताएका छन् ।
त्यसबाहेक उनले रोजगारी, कृषि विकासका कार्यहरू अगाडि बढाउने र विगतका वर्षभन्दा मेजर ‘ब्रेक थ्रु’ हुने खालको नीति कार्यक्रम आओस् भन्ने सत्ता साझेदार दलहरूले सुझाव दिएको जानकारी गराएका छन् ।