काठमाडौँ । विश्वभर अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने निर्णय गरेको अमेरिकाले चार देशमा भने एमसीसी परियोजना निरन्तरता दिने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी दक्षता विभाग (डज)का एक अधिकारीले चार देशमा एमसीसीले निरन्तरता पाउने बताएका छन् ।
अमेरिकाले एमसीसी परियोजनालाई नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्टमा निरन्तरता दिने निर्णय गरेको ती अधिकारीले जनाएका छन् ।
ती अधिकारीका अनुसार नेपाल र सेनेगलमा प्रसारण लाइन परियोजना, मंगोलियामा फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टमा विद्यालय सम्बन्धी परियोजनाले निरन्तरता पाउने भएका छन् ।
अमेरिकाको यस्तो निर्णयसँगै नेपालमा एमसीसी अन्तर्गत सञ्चालन भइरहेको हाइड्रोपावर प्रसारण लाइन र सडक पूर्वाधारको काम नरोकिने भएको छ । हाल नेपालमा अमेरिकाको ५ सय ५० मिलियन डलर र नेपालको समेत लगानीमा ५ सय केभीए क्षमताको डबल सर्किट प्रसारण लाइन र सबस्टेशन निर्माण तथा सडक स्तरोन्नति र मर्मतको कार्य अघि बढेको छ ।
तर, यी चार बाहेकका अन्य देशमा भने एमसीसी परियोजना बन्द गर्ने अमेरिकाले निर्णय गरेको छ ।