काठमाडौँ । ट्रेड टावरले बैशाख ८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ८ गते वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९ सय ३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार तीन सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । पहिलो चरणको आईपीओ निष्कासनमा विदेशमा रहेका नेपालीहरुले बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।