काठमाडौँ । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेअनुसार अमेरिकी सरकारले एमसीसी केही महिनाभित्रै बन्द गर्ने तयारी गरेको हो ।
खासगरी एमसीसी बन्द गर्ने निर्णय एलन मस्क नेतृत्वको अमेरिकी दक्षता विभाग (डज)ले गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एमसीसी परियोजना नै बन्द भएपछि एमसीसी परियोजना अन्तर्गत नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण आयोजनाका काम पनि बन्द हुनेछन् । हाल नेपालमा एमसीसी परियोजना अन्तर्गत सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम सञ्चालनमा छन् । यी आयोजनाहरु रोकिँदा काम रोकिनुसँगै नेपाललाई ठूलो आर्थिक भार पर्ने पनि निश्चित देखिएको विज्ञहरु बताउँछन् ।
मस्क नेतृत्वको डजले एमसीसीका सबै कर्मचारीलाई एमसीसी परियोजना बन्द हुन लागेको जानकारी इमेलमार्फत पठाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।