Skip to content
LAXMI SUNRISE BANK

ढुङ्गाको मूर्ति बेचेरै मनग्य आम्दानी !

अर्थ सरोकार

काठमाडौँ । काम गर्न उमेरले छेक्दो रहेन छ । काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले सिद्ध बनेका छन् ।

उनले चुरे क्षेत्रका खोलाबाट ढुङ्गा सङ्कलन गरी मूर्ति निर्माण गर्दै आएका छन् । ढुङ्गाबाट बनाइएका मूर्ति बिक्री गरी उनको घरखर्च चल्ने गरेको छ । अन्य व्यक्तिले ढुङ्गाबाट बनाइएका मूर्ति हेर्दाहेर्दै बनाउन सिकेको विष्टले बताए ।

ढुङ्गाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग, नन्दीलगायतका मूर्ति उनले बनाउँदै आएका छन् । एक दशकको अवधिमा एक सय ५० बढी मूर्ति निर्माण गरिसकेको उनी बताउँछन् । एक मूर्ति निर्माण गर्न एकदेखि तीन महिनासम्म लाग्ने गरेको छ ।

मूर्ति बनाएबापत प्रतिमूर्ति रु ३० देखि रु ५० हजारसम्म पारिश्रमिकका रूपमा विष्टले लिने गर्छन् । ‘मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु ।’, उनले भने, ‘मूर्ति बन्न सक्ने ढुङ्गा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु ।’

मूर्ति बनाएबापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गरिँदै आएको उनको भनाइ छ । तन्नेरीहरूको जस्तै विष्ट बिहानीदेखि साँझसम्म मूर्ति बनाउनमा खटिएका हुन्छन् । दुई–तीन महिनामा मूर्ति बनाउने माग आउने गरेकाले घर खर्चमै पारिश्रमिकबापत पाइने रकम सिद्धिने गरेको उनी बताउँछन् । ‘तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको छ ।’, उनले भने, ‘काम नगरे भोकै बस्नुपर्छ, त्यहीँ भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK