काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पाँच सय र एक हजार रुपैयाँका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् । पौडेलले बुधबार पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा पाँच सय र एक हजार रुपैयाँको नयाँ नोट छपाई गर्ने निर्णय गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । उनले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।’
त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा. पौडेलले बताए । त्यस्तै, राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे ।
राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ । डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । त्यसलगत्तै उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए ।