काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरेपछि बजेटबारे प्रतिक्रिया दिँदै पुनले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको बताए । आगामी आर्थिक वर्षको बजेट नियमित बजेटको रूपमा आएको पुनले जिकिर गरेका छन् ।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र भनेर उल्लेख गरे पनि अहिलेको बजेटमा क्षेत्र केन्द्रित नभएको बताए । उनले गत वर्ष ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको स्मरण गर्दै अहिले सो बारे केही उल्लेख नभएको बताएका छन् ।
त्यस्तै, उनले गत वर्ष स्टार्टअप लगायतका आइसिटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेको बजेटमा उक्त कुरा छरिएर आएको भन्दै विद्युतीय गाडीको करलाई यथावत राख्नु भने सकारात्मक रहेको बताएका छन् ।