काठमाडौँ । अबदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा प्रवेश परीक्षा दिनु नपर्ने भएको छ । आर्थिक वर्ष २०८२ ८३ देखि लागू हुनेगरि विद्यार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका स्वीकृत गर्दै यस्तो व्यवस्था गरिएको हो ।
प्रवेश परीक्षा दिनु नपर्ने भएपछि सीटीईभीटीले प्रि-डिप्लोमा र डिप्लोमा तथा एसईईको ग्रेडिङको आधारमा विद्यार्थी छनोट गर्नेछ ।
यसो त यसअघि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ७० नम्बरको प्रवेश परीक्षा र ३० नम्बर विद्यार्थीले एसईईमा ल्याएकोलाई नतिजालाई आधार मानेर विद्यार्थी छनोट गरिँदै आएको थियो । तर, एउटा परीक्षा सकिने बित्तिकै अर्को परीक्षा लिँदा विद्यार्थीमा तनाव हुने भएकाले प्रवेश परीक्षा नलिने निर्णय गरिएको सीटीईभीटीले जनाएको छ ।
एसईईकै प्राप्तांकका आधारमा विद्यार्थी छनोट गर्दा विद्यार्थीको समय बचत हुनुका साथै एसईईकै परीक्षामा मिहेनत गर्नुपर्छ भन्ने सन्देश जाने विश्वास गरिएको छ । अर्कोतर्फ एसईई पास भएपछि पनि सीटीईभीटीमा नाम निकाल्न अतिरिक्त तयारी कक्षा लिनुपर्ने झन्झटबाट विद्यार्थी मुक्त हुनुका साथै अभिभावकलाई पनि सहज हुने विश्वास सीटीईभीटीले गरेको छ ।
अर्कोतर्फ विगतमा सीटीईभीटीको प्रश्नपत्र आउट हुने, कमिसन र घुसका आधामा नाम निकालिन्छ भन्ने आरोप लाग्दै आएको सीटीईभीटीले उक्त आरोपबाट पनि मुक्ति पाउनेछ । यसले विद्यार्थीको मनोबल र पढाई थप गुणस्तर हुने सीटीईभीटीले निष्कर्ष निकालेको छ ।