Skip to content
LAXMI SUNRISE BANK

अझै भेटिएन हेटौँडामा सडक भासिएर हराएको गाडी, सिडिओ भन्छिन्- ‘अचम्मै भयो’

अर्थ सरोकार

काठमाडौँ । हेटौँडामा सडक भासिएर हराएको गाडी अझै भेटिएको छैन । हेटौँडा उपमहानगरपालिका- १६ र १७ जोडिएको गैरीगाउँमा सडक भासिएर गायब भएको पिकअप भ्यान अझै नभेटिएको हो । 

शनिबार घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो भ्यान सडक भासिँदा गायब भएको थियो । उक्त गाडी सडक भासिएको करिब ५ सेकेण्डमै गायब भएको थियो । 

सडक भासिएर गायब भएको गाडी अझै नभेटिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) स्किम श्रेष्ठले बताएकी छिन् । श्रेष्ठका अनुसार खोजीकार्य तिव्र पारिएको भए पनि गाडीको अत्तोपत्तो लागेको छैन । उनले सडक भासिएर गाडी हराउनु र अझै पनि नभेटिनु अचम्मै भएको बताएकी छिन् । 

हाल पानी परिरहेकोले हराएको गाडी खोज्न कठिनाइ भइरहेको भन्दै सिडिओ श्रेष्ठले गाडी खोज्ने कार्यमा हरसम्भव प्रयास भइरहेको बताएकी छिन् । 

गाडी गायब भएको ठाउँ नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ भएकाले बोरिङकै कारण जमिन भासिएको अनुमान गरिएको छ । सडक भासिएर गाडी हराएपछि उक्त क्षेत्रमा बोरिङ लगाएर पानी फालेर पनि गाडी खोजिएको थियो । तर, गाडी भेटिएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK