काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । गत शुक्रबार सर्वोच्च अदालतमा पौडेलको नियुक्ति बदरको माग गर्दै पेस गरेको रिट मंगलबार दर्ता भएको हो ।
उक्त रिट अधिवक्ताद्वय अनन्तराज लुइँटेल र विशाल थापाले दर्ता गरेका हुन् । गभर्नरको नियुक्ति गैरकानुनी भएकाले नोटमा हस्ताक्षर गर्ने कार्य रोक्नसमेत उनीहरूले अन्तरिम आदेशको माग गरेका छन्।
रिटको पेसी जेठ १३ गते (बुधबार) का लागि तोकिएको छ । यसअघिको रिटमा गभर्नर पौडेलको नियुक्ति नै ऐन विपरीत भएको दाबी गरिएको थियो भने गभर्नर बन्न उनको शैक्षिक योग्यता समेत नपुग्ने दाबी गरिएको थियो ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा (३) मा राष्ट्र बैंकको गभर्नर हुने व्यक्तिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित हुनुपर्ने भनिएको छ । तर, गभर्नर पौडेलको योग्यता ग्रामीण विकास अर्थशास्त्रमा भए पनि मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रको योग्यता भने नभएको रिटमा उल्लेख गरिएको छ ।