काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६० वर्षीय लक्ष्मण चापागाईं, ३९ वर्षीय अशोक मण्डल, २० वर्षीय बाल सुन्दर भारती र २७ वर्षीय चण्डिका उप्रेती रहेका छन् ।
पीडितहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुले राम्रो काम र आकर्षक तलब हुने प्रलोभन देखाएर पीडितबाट लाखौँ रकम ठगी गरेका थिए ।
प्रहरीका अनुसार चापागाईंले युके पठाउने भन्दै ५ लाख १४ हजार, मण्डलले मलेसिया पठाउने भन्दै ६ लाख, भारतीले पोर्चुगल पठाउने भन्दै तीन लाख र उप्रेतीले न्युजिल्याण्ड पठाउने भन्दै ५० हजार रुपैयाँ ठगी गरेरे सम्पर्क विहीन भएका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।