काठमाडौँ । अमेरिकाबाट थप ४० जना नेपाली देश निकालामा परेका छन् । अमेरिकाको इमिग्रेसन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीका अनुसार उनीहरुलाई आजै नेपाल ल्याइनेछ ।
उनीहरुलाई लिएर अमेरिकाबाट उड्ने चार्टर्ड विमान आइतबार (आज) आपराह्न सवा चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । तर, कति जना नेपालीहरु छन् ? भन्ने यकिन भएको छैन । यद्यपि अमेरिकाले दिएको यसअघिको जानकारी र पछिल्लो अपडेट हनुसार कम्तिमा ४० जना नेपाली फिर्ता पठाइएको अध्यागमन कार्यालयका अधिकारीले बताएका छन् ।
यसो त डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि यसअघि सन् २०२५ जनवरी २० देखि मे सम्ममा अमेरिकाले १ सय ४० जना नेपालीलाई देश निकाला गरिसकेको छ । अमेरिकाबाट देश निकालामा पर्ने नेपालीको संख्या अझै बढ्ने देखिएको छ ।