काठमाडौँ । लक्ष्मी सनराइज बैंकबाट ‘फोन लोन’ लिएर ५० ऋणी फरार भएका छन् । बैंकबाट ‘फोन लोन’ लिएर साँवा र ब्याज नतिरी ५० जना ऋणी फरार भएका हुन् । पटकपटक सम्पर्क गर्न खोज्दा पनि उनीहरु सम्पर्कमा नआएको बैंकले जनाएको छ ।
ऋण तिर्नका लागि ताकेता गर्दा पनि सम्पर्कमै नआएपछि बैंकले ५० जना ऋणीहरुलाई बैंकबाट लिएको ‘फोन लोन’ तिर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
ऋणीहरुको तीन पुस्ते सार्वजनिक गर्दै बैंकले ३५ दिनभित्र बैंकको सम्पर्क आउन र ऋण तिर्न भनेको छ । ऋणीहरुलाई दिइएको ३५ दिनभित्र पनि साँवा, ब्याज र जरिवाना नतिरे कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने बैंकले चेतावनी दिएको छ ।
त्यस्तै, बैंकले ऋणीलाई कालोसूचीमा राख्नुका साथै ऋण असुलीका लागि कानूनी कारबाही अघि बढाउने र कर्जा रकम असुल गर्ने चेतावनी दिएको छ ।