काठमाडौँ । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’ मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताए ।
वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको पुनले जिकिर गरेका छन् । उनले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृत रूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राखेका छन् ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मेहनत नपुगेको बताउँदै दुई ठूला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाएका छन् । त्यस्तै, उनले आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको जिकिर गरेका छन् ।