काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब रकेटको चालमा विकास गर्ने बताएका छन् । मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र, एक सडक’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ती भ्रष्टाचार भन्दा ठूलो अपराध भएको टिप्पणी समेत गरेका छन् ।
भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भएपनि विकास निर्माणमा ढिलाई हुँदा आयोजनाको शतप्रतिशत मूल्य बढ्ने गरेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ती नियन्त्रणमा गम्भिर रहेको पनि बताएका छन् ।
त्यस्तै, उनले यो समय प्रविधि र एआईको समय भएको उल्लेख गर्दै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने बताएका छन् । ‘यो जमाना प्रविधि र एआईको जमाना हो । यस युगमा हामी चाहिँ बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ ।’, उनले भने, ‘बामे सरेर हुँदैन । त्यस कुरामा सरकारको ध्यान गएको छ ।’