काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । सोमवार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेटः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।
ढकालले सुशासन बिना राम्रो नतिजा दिन नसकिने समेत बताएका छन् । सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने भन्दै ढकालले सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य बजेटको सही कार्यान्वयन हुनसके मात्र सम्भव रहेको बताएका छन् ।
‘बजेटमा आएको चिज इम्प्लिमेन्ट हुनुपर्यो । सबैभन्दा ठूलो कुरा सुशासन हो ।’, उनले भने, ‘सबै कुरा राम्रो गर्छौं तर यदि हामी सुशासन पालना गराउन सके मात्र हामीले खोजेको रिजल्ट र अनुमान गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सक्छौँ ।’
त्यस्तै, अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरु आन्तरिक प्रयोग र निर्यात गर्ने कुराबाट पछाडि फर्किन नहुने बताएका छन् ।