काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको आपत्ति जनाएका हुन् ।
उनले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा दूधको साक्षी बिरालो भएको भन्दै व्यङ्ग्य गरेका छन् ।
दूधको साक्षी बिरालो राखेर समस्याको समाधान हुन नसक्ने भन्दै सांसद शाहीले जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर छानबिन समितिले विधिको शासन स्थापना नगर्ने बताएका छन् ।
त्यस्तै, उनले सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको जिकिर गरेका छन् । सरकारको यो प्रोपोगाण्डाकाविरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुने पनि सांसद शाहीले उद्घोष गरेका छन् । उनले यो मान्छे बेच्ने प्रक्रिया भएको बताउँदै संख्याका आधारमा यो मुद्दालाई निस्तेज नपार्न समेत सरकारलाई आग्रह गरेका छन् ।