काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण गएको आशंका व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) माथिको अर्थ समितिमा भएको छलफलका क्रममा गभर्नर पौडेलले यस्तो आशंका व्यक्त गरेका हुन् ।
हालको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग भएको देखिएको गभर्नर पौडेलको भनाई छ ।
उनले ऋण प्रवाहको प्रक्रिया हेर्दा ऋण एक हदसम्म केन्द्रिकृत हुँदै गएको हो की ! भन्ने कन्सन्स रहेको बताएका छन् । उनले बाफियामा यसतर्फ ध्यान दिन पनि सांसद्हरुको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै, पौडेलले सञ्चालकले कर्जा लिन पाउने की नपाउने ? कति लैजान पाउने ? सञ्चालक भनेको के हो ? बैंक चलाउने मान्छे र व्यवसायीबीचको फरक आवश्यक हो वा होइन ? अरु देशमा छ भने नेपालमा पर्छ पर्दैन ? देशमा भइरहेको जे स्थिति छ, त्यसमा ऋणको प्रवाहदेखि स्वार्थको द्वन्द्वबाट उत्पन्न परिस्थितिका बारेमा पनि बाफिया विधेयक बनाउँदै गर्दा संसद्ले नै आवश्यक निर्णय लिनुपर्ने बताएका छन् ।
कर्जा प्रवाह र ऋणीको हक अधिकारको कुरा सबैभन्दा ठूलो कुरा भएकाले यसलाई बाफियामा स्पष्ट ढंगले परिभाषित गर्नुपर्ने पनि गभर्नर पौडेलले बताएका छन् ।