काठमाडौँ । जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर) पुगेको छ । यो वृद्धि मुख्य रूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको हो, जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त अवधिमा जापानको व्यापार घाटा ३२.८ अर्ब येनमा सिमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४.८ प्रतिशतले घटेको हो । यो गिरावट निर्यात ४.० प्रतिशतले बढेर ८.७७ ट्रिलियन येन पुगेको र आयात २.९ प्रतिशतले घटेर ८.८० ट्रिलियन येनमा झरेको परिणामस्वरूप भएको बताइएको छ ।
प्राथमिक आम्दानी, अर्थात् जापानले विदेशमा गरेको लगानीबाट प्राप्त हुने आम्दानी, अप्रिल महिनामा ९.६ प्रतिशतले घट्दै ३.५९ ट्रिलियन येनमा झरेको छ । यस गिरावटको मुख्य कारण प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त आम्दानीमा आएको कमी हो, जुन जापानी मुद्रा येनको मूल्य वृद्धि भएका कारण देखिएको हो ।
त्यस्तै, सेवा व्यापारतर्फ घाटा ४.८ प्रतिशतले वृद्धि भई ७६८.१ अर्ब येनमा पुगेको छ। बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी भुक्तानीमा भएको वृद्धिले यसमा योगदान गरेको छ ।
साथै, पर्यटन क्षेत्रबाट प्राप्त नाफा भने १८.३ प्रतिशतले बढेर ६७५.७ अर्ब येनमा पुगेको छ । अप्रिल महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५ प्रतिशतले वृद्धि भई करिब ३.९१ मिलियन पुगेको जनाएको छ ।