काठमाडौँ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन यूएसको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपालमा थप आकर्षण गर्न जरुरी रहेको बताएका छन् । काठमाडौँमा आयोजित ‘नेपाल-अमेरिका व्यापारः अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडाले अमेरिकासँगको व्यापार बढाउन त्यहाँबाट नेपालमा हुनसक्ने लगानी धेरैभन्दा धेरै भित्र्याउनुपर्ने बताएका छन् ।
उनका अनुसार अमेरिकी प्रत्यक्ष वैदेशिक लगानीलाई जोड दिँदा यो लगानीले हाम्रा उत्पादनहरूको मूल्य श्रृंखलालाई बलियो बनाउँछ । जसले निर्यातमा नयाँ उचाइ दिन्छ । साथै लगानीसँगै आधुनिक प्रविधि पनि आउँछ, जसले हाम्रा उत्पादनहरूलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सघाउ पुग्छ ।
खतिवडाले नेपालले अमेरिकासँग द्विपक्षीय लगानी सम्झौता गरेर व्यापार सम्बन्ध अघि बढाउनसके त्यसबाट नेपालले धेरै लाभ लिनसक्ने बताएका छन् । भविष्यमा लगानी बढ्दै जाँदा कर सम्झौता (डिटिए) को आवश्यकता पर्दा पनि नेपालले त्यसलाई समेत अघि बढाउन सक्नुपर्ने उनको भनाई छ ।
नेपालले आफ्नो द्विपक्षीय व्यापार सम्बन्ध गैरपारस्परिक हुनुपर्ने तर्क गर्दै उनले नेपालले अल्पविकसित देशबाट विकासशील देशमा उन्नति गर्न लागेकाले अमेरिका र अन्य ठूला व्यापारिक साझेदारहरुलाई नेपालको अवस्था र नेपालबाट निर्यात हुने वस्तुहरूको लागि अनुकुल व्यवहारको आवश्यकताबारे विश्वस्त पार्नुपर्ने बताएका छन् ।
खतिवडाका अनुसार अमेरिकासहित विश्वका विभिन्न मुलुकमा व्यापार गर्न मुलुकलाई एफएटिएफले कालोसूचीमा राखेकाले चुनौति थपेको छ । एफएटीएफले दिएका सुझावहरुलाई प्रभावकारी रुपमा लागू गरेर मुलुकलाई छिटो भन्दा छिटो ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने खतिवडाको भनाई छ ।