काठमाडौँ । ऋण मिलाईदिने भन्दै घुस लिएका नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बैंकका अध्यक्षले अकला देवी ट्रेडर्स नामक कम्पनीलाई ऋण दिलाईदिने भन्दै घुस लिएको उजुरी बैंककै एक सिनियर कर्मचारीले अख्तियारमा दिएका थिए । त्यसपछि अख्तियारले बैंकमा अध्यक्षको कार्यकक्षमा छापासमेत मारी अधिकारीसँग बयानसमेत लिएको थियो । यसैबीच नेपाल राष्ट्र बैंकलेसमेत अधिकारीले ऋण दिलाईदिँदा घुस लिएको भेटिएपछि उनलाई कारवाही गरेको थियो । राष्ट्र बैंकको निर्णयपछि थप पेचिलो बनेको यो विषयमा अख्तियार सक्रिय बनेको हो ।
अधिकारीसहितका ६ जनाले नेपाल बैंकबाट पच्चीस करोड रुपैयाँ बराबरको ऋण पारित गराइदिने प्रक्रियामा करिब ५० लाख रुपैयाँ घुस माग गरेको र त्यसअनुसार रकम चलाउने काममा संलग्न रहेको अख्तियारको निष्कर्ष छ । अख्तियारले गरेको अनुसन्धानका क्रममा अधिकारीले २ प्रतिशत घुस लिएको पुष्टी भएको छ ।
सन्तोष सुवेदी नाम गरेका विचौलियामार्फत नेपाल बैंकका अध्यक्षसँग पहुँच बनाएर व्यापारीहरू दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया, नारायण प्रसाद बराल लगायतले ऋण रकमका लागि घुस दिने काम गरेका थिए । यसको सबै बन्दोबस्त सन्तोष सुवेदीले गरेका थिए ।
नेपाल बैंकको न्युरोड मुख्य कार्यालय, कालिमाटी शाखा र डुम्रे शाखामा ऋणका लागि प्रक्रिया अगाडि बढाइए पनि त्यहाँबाट ऋण नमिलेपछि उनीहरु अध्यक्षलाई घुस खुवाउन तयार भएका थिए । आफुले ऋण दिन नमिलेको भनेका व्यक्तिलाई अध्यक्षले ऋण दिएको र अध्यक्षको खातामा ‘स्वार्थको द्वन्द हुनेगरी’ रकम ट्रान्सफर भएको देखिएको भन्दै एक कर्मचारीले बैंकका अर्का सिनियर कर्मचारीलाई खबर गरेका थिए । त्यसपछि ‘सिइओ’सँगको सल्लाहमा ती सिनियर कर्मचारीले अख्तियारमा उजुरीसमेत गरेका थिए भने बैंकको इन्टरनल अडिट टिमलाई पनि यस विषयमा सुइको दिएका थिए । ती सिनियर कर्मचारीले सीइओसँगकै सहमतिमा आफुले सो तथ्य बाहिर ल्याएको पुष्टी गरेका छन् । त्यसपछि यो प्रकरणको रहस्य बाहिर आएको हो ।
रकम कसरी भयो ट्रान्सफर ?
यतिसम्मकि सन्तोष सुवेदी मार्फत निकै चलाखीपूर्ण तरिकाले घुस मिलाइएको छ । घुसको डिल भएपछि सुरुमा सुवेदीले घुस खाएको देखिन्छ । त्यसपछि २०८१ साल भदौ १६ गते, सन्तोष सुवेदीको एनआईसी एसिया बैंकको खातामा ७ लाख रुपैयाँ जम्मा गरिएको थियो । त्यसको भोलिपल्ट, सो रकममध्ये ५ लाख रुपैयाँ अबिनाश श्रेष्ठको नबिल बैंक खातामा ट्रान्सफर गरिएको देखिन्छ । त्यसपछि अबिनाश श्रेष्ठले सोही रकम अधिकारीकी श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंक खातामा ट्रान्सफर गरेको भेटिएको छ । घुस रकममध्ये केहि बिचौलिया सुवेदीले खाएको देखिन्छ भने बाँकी रकम अध्यक्ष अधिकारीले खाएको देखिन्छ ।
त्यसपछि, मधुमाया अधिकारीको खाताबाट क्रमशः भदौ १७, १८ र १९ गते गरी एक लाख, दुई लाख, दुई लाख गरी अर्को खातामा रकम सारिएको देखिन्छ । फेरि भदौ ३० गते, खुर्सनसिब अन्सारीले सो खाताबाट ९ लाख ९० हजार रुपैयाँ निकालेर त्यसको केही हिस्सा अधिकारीकै नेपाल बैंक खातामा २ लाख र ४ लाख गरी जम्मा गरिएको विवरण भेटिएको छ ।
यसो त अधिकारीले विभिन्न च्यानलमार्फत घुस खाएको यो पहिलोपटक नभएको र उनी घुस खाने काममा निकै माहिर रहेको चर्चा अनुसन्धान ताका नै भएको थियो । तर ‘प्रमाण नभेटिएको’ भन्दै यो प्रकरणमा बैंकका सीइओ भने मुछिएका छैनन् ।