काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन अवस्थामा रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन् ।
उनले संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको बताएका छन् ।
शाक्यका अनुसार अहिले प्रसारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन । कमजोर प्रसारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्याएको शाक्यको भनाई छ । शाक्यले विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको समेत बताएका छन् ।
त्यस्तै, उनले विगतमा जति लगानी भयो, सो लगानी पर्याप्त नभएको भन्दै हाल ३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला ? भन्दै प्रश्न गरेका छन् । आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको शाक्यले संकेत गरेका छन् । उनले उर्जा क्षेत्रका लागि भएपनि विद्युत प्राधिकरणलाई बचाइराख्नुपर्ने भन्दै विद्युत प्राधिकरण खण्डिकरण हुने हो भने उर्जा क्षेत्रको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताएका छन् ।
नेपाल अल्पविकासशिल मुलुकबाट विवेकशील मुलुकमा जाँदै गर्दा सस्तो ब्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रसारण लाइनदेखि वितरण लाइन बनाउन चुनौति रहेको शाक्यले बताएका छन् । वैदेशिक सहयोग नआउने हो भने विद्युत प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न नसक्ने भन्दै उनले यसमा निजी क्षेत्रले समेत विद्युत प्राधिकरणलाई सघाउनुपर्ने बताएका छन् ।