काठमाडौँ । धान आयातमा पछिल्लो ११ महिनामा करिब ३९ अर्ब रुपैयाँ विदेशिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्त सम्ममा धान/चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको हो ।
विभागका अनुसार यस अवधिमा सो मूल्य बराबरको ७ लाख ५३ हजार मेट्रिक टन धान, धानको बीउ, चामल र कनिका आयात भएको हो । गत आर्थिक वर्षको यस अवधिमा नेपालमा करिब २१ अर्ब १३ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार मेट्रिक टन धान आयात भएको थियो ।
विशेषगरि चामलमा बढी निर्भरता, त्यसमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा बास्नादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुक भारतले धान निर्यातमा लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धान/चामलको आयात अपेक्षाकृत कम हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार नेपालमा करिब ७० लाख मेट्रिक टन धानको माग छ । चालु आवको तथ्याङ्क अनुसार नेपालमा कूल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको थियो । यस हिसाबले अझै नेपालमा करिब १० लाख मेट्रिक टन धान अपुग रहेको देखिन्छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मार्फत मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । आगामी वर्षहरुमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरि चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरु तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए । उत्पादन विस्तारका लागि मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानबाट प्राप्त नवीनतम प्रविधिहरु किसान माझ पुर्याउन त्यस्ता कार्यक्रमहरु केन्द्रित रहने उनले बताएका छन् ।
उनका अनुसार आगामी वर्ष देशभरका १८ जिल्लाका ५८ पालिकामा सङ्घीय सशर्त वित्तिय हस्तान्तरण मार्फत चैते धान प्रवर्द्धन कार्यक्रम संचालन हुँदैछ भने प्रदेश मातहतका निकायहरुले पनि आफ्नै स्रोतबाट धान प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्नेछन् । यसको अलावा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संचालित धानका २१ जोन र ५ सुपरजोनहरुमार्फत वर्षे र चैते दुबै सिजनमा धानको सम्पूर्ण मूल्यश्रृंखला विकासमा कार्यक्रम संचालन हुने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्