काठमाडौँ । अध्यक्षदेखि बैंकका ब्रान्च मेनेजरसम्मले ऋणीबाट घुस असुल्ने गरेको तथ्य बाहिरिएपछि नेपाल बैंकका केहि इमान्दार कर्मचारीहरु भने मर्कामा परेका छन् । बैंकका अध्यक्षले घुस लिएको प्रमाणित भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेपछि र बैंकका विभिन्न शाखाका शाखा प्रबन्धकहरुले घुस रकम लिने गरेको तथ्य बाहिर आएपछि बैंकका केहि इमान्दार कर्मचारीहरु दिक्क भएका हुन् ।
`साथीभाइले समेत आज कति झर्यो ? भन्दै जिस्काउन थाले´
यसैबीच नेपाल बैंकमा काम गरिरहेका कर्मचारीहरुले बैंकको बदमासीका कारण आफुहरुकै इज्जतमाथि प्रश्न उठेको गुनासो गर्न थालेका छन् ।
‘साथीभाइले समेत आज कति झर्यो ? भन्दै जिस्काउन थालिसके । नेपाल बैंकमा त तलव छुट्टै कमाई छुट्टै भन्दै व्यंग्य गर्न थालिसके । केहि खराब कर्मचारीले त्यस्तै गरिरहेका पनि छन् । तर नेपाल बैंकका सबै कर्मचारी घुस्याहा हुन्छन् भन्ने भाष्य निर्माण हुने पीर भयो ।’ नेपाल बैंकको काठमाडौँस्थित एक शाखामा कार्यरत कर्मचारी भन्छन्- ‘नेपाल बैंकलाई घुस खाने बैंक भनेर ग्राहकहरु हाकाहाकी भन्न थालिसके । अनुहार देखाईनसक्नु भएको छ ।’
बैंकका कर्मचारीका अनुसार अगाडी बढाउन नमिल्ने फाइल लिएर आएका कतिपय कर्मचारीले सिधै घुस कति लिनुहुन्छ भनेरसमेत सोध्ने गरेका छन् । काम केहि समयमात्र ढिलो भयो भने पनि ‘कति खोज्नुभएको हो ? भनेर प्रश्न गर्छन् । कतिपयले त बाहिर कहिले भेट्नुपर्ने हो सर ? भन्दै घुसको अफर गर्छन् भने कतिपय ग्राहकहरुले बैंकमै आएर आफ्नो काम नभएपछि छाडा बोल्दै घुस्याहा बैंक भन्दै सराप्नसमेत थालेका छन् । यस्ता कामले बैंकमा भर्खर काम सुरु गरेकादेखि केहि इमान्दार कर्मचारीहरु मर्कामा परेका छन् ।