काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तिव्रता दिनुपर्ने बताएका छन् । कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
हाल देशभित्र सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु घटेको अर्थमन्त्री पौडेलको भनाई छ । अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताएका छन् ।
विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उनको भनाई छ । ‘भूगोलका हिसाबले देश सानो छौँ तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौँ । सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौँ ।’, उनले भने, ‘यसअर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ । तथापि आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन । विभिन्न सन्दर्भमा अध्ययनका शिलशिलामा श्रम, व्यवसायका शिलशिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन् ।’
त्यस्तै, उनले कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरुलाई पौडेलले आह्वान गरेका छन् । पुस्तकले अरुलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने अर्थमन्त्री पौडेलले बताएका छन् ।