काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध राखेर षड्यन्त्र भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले केही समय यता संसद् अवरोध रहेको र संसद्को अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको समेत जिकिर गरेका छन् । केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि लेखकले आरोप लगाएका छन् ।
‘केही समयदेखि संसद् अवरोध भएको छ । यो संसद्को अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन ।’, उनले भने, ‘प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’
त्यस्तै, उनले अब संसद्को अवरोध चाँडै हट्नुपर्ने बताएका छन् । तर, विपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्रीले राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएका छन् ।