काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्तापक्ष तयार रहेको बताएका छन् । भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको अध्ययन र छानविन गर्न सत्तापक्षले प्रतिवद्धता जनाएको प्रचण्डले बताएका हुन् ।
उनले भिजिट भिसा प्रकरणको छानविनका लागि सत्तापक्षबाट प्रतिवद्धता आएपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक वातावरण बनेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तापक्षसँग थप छलफल चाहेको प्रचण्डको भनाई छ ।
‘एउटा गृहमन्त्रीको कुरा मात्रै होइन । यो विगतदेखि नै अध्यागमनको समस्या अलिक विकराल नै देखिएको छ । यो समस्यालाई सत्तापक्ष र प्रतिपक्षी सबैले गम्भीरताका साथ लिनुपर्यो भन्ने कुरामा हामी सबैले कुरा गरेपछि सत्तापक्षले अध्ययन र छानविन गर्ने प्रतिवद्धता तथा संरचना बनाएर ठोस रुपमा पहल लिने भन्ने प्रतिवद्धता आएपछि प्रतिपक्षको बीचमा अत्यन्त सकारात्मक वातावरण बनेको छ ।’, उनले भने, ‘ तर केही साथिहरु अझै हामी सत्तापक्षका साथिहरुसँग कुरा गर्छौं र सदन सुरु गरौँ भन्ने छ । रास्वपाले छलफल चाहेको छ ।’
यसो त भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलले गृहमन्त्रीको राजिनामा माग्दै संसद् अवरोध गर्दै आएका थिए । यसअघि सम्म गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिएका विपक्षी दलहरु अहिले भने ‘गृहमन्त्रीले राजिनामा नदिए पनि हुन्छ तर छानबिन चाहिँ हुनुपर्छ’ भन्ने स्थितिमा पुगेका छन् ।
रास्वपाले भने आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । सम्भवतः रास्वपा पनि गृहमन्त्रीको राजिनामाका विषयमा लिइएको अडानबाट ‘ब्याक’ हुने सम्भावना रहेको बताइएको छ । यद्यपि सो विषयमा रास्वपाभित्र छलफल चलिरहेको रास्वपाकै एक नेताले बताएका छन् ।