काठमाडौं । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकमाथि यतिबेला आफूलाई क्रान्तिकारी दाबी गर्नेदेखि प्रतिगामी कित्ता सम्मबाट नियोजित रुपमा प्रहार केन्द्रीत गरिएको छ ।
२०६२/०६३ को जनआन्दोलन, शान्ति प्रकृयामार्फत हिंसात्मक विद्रोहरत माओवादीको शान्तिपूर्ण रूपान्तरण र संविधानसभामार्फत संविधान निर्माण तथा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको अभियानमा अग्रणी भूमिका निर्वाह गरेका गृहमन्त्री रमेश लेखकले आफूलाई नेपाली राजनीतिमा इमानदार, निष्कलङ्क , लोकतन्त्रप्रति प्रतिबद्ध र जनताप्रति उत्तरदायी नेताको रुपमा उभ्याएको जगजाहेर नै छ ।
मन्त्री, प्रमुख सचेतक र पार्टीका अन्य विभिन्न भूमिकामा आफ्नो प्रभावकारिता सिद्ध गर्दै कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता लेखकले पार्टी, सरकार र संसद् तीनवटै क्षेत्रको भूमिकामा आफूलाई खरो उतार्दै आएका छन् । आजसम्म जो कसैलाई पनि आफूतर्फ चोर औंलो तेर्स्याएर नैतिक र चारित्रिक प्रश्न उठाउने मौका नदिएका नेता लेखकको व्यक्तित्वमाथि यतिबेला सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा हिलो छयाप्ने जुन कर्मकाण्ड चलिरहेको छ, त्यसले केही गम्भीर प्रश्नहरू जन्माएको छ ।
आखिर एउटा इमानदार नेता रमेश लेखकलाई नै चौतर्फी कोणबाट किन तारो बनाइदैछ ? आखिर गृहमन्त्री रमेश लेखकलाई मन्त्री पदबाट राजीनामा दिन लगाएर कसले कुन अभिष्ट साँध्न खोज्दैछ ? भन्ने प्रश्न खडा भएको छ ।
लेखकमाथि प्रहार किन ?
अहिले गृहमन्त्री रमेश लेखकमाथि पाँच कोणबाट प्रहार भइरहेको देखिन्छ । त्यसमध्ये पहिलो आक्रामक पक्ष हो, राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि नेपाली काँग्रेसका प्रमुख सचेतकका हैसियतले नेता रमेश लेखकले सदनमा जोडदार आवाज उठाउनु र तत्कालीन गृहमन्त्री लामिछाने प्रकरणमा छानविन समिति माग्नु स्वाभाविकै थियो । सिंगो संसदीय दलकै निर्णय बमोजिम विधिको शासन र कानूनी राज्यको पक्षमा सदन अवरोधसमेत भएको थियो र त्यसमा प्रमुख सचेतकका हैसियतले लेखकको भूमिका प्रभावकारी हुने नै भयो ।
अन्ततः अहिले आएर सम्मानित अदालतले पनि रास्वपा अध्यक्ष लामिछानेलाई हिरासतमै राखेर कारवाही चलाउन आदेश दिएको सन्दर्भमा त्योबेला नेता लेखकले सदनमा रविबारे अघि सारेका तथ्य र दाबी सही रहेछन् भन्ने साबित समेत भइसकेको छ । यो परिप्रेक्ष्यमा सहकारी ठगीमा संलग्न आफ्ना अध्यक्षलाई कानूनको कठघरामा उभ्याएबापत रिसइवी साँध्दै र एक हिसाबले प्रतिशोध नै साँधेर रास्वपाले गृहमन्त्रीको राजिनामा माग गरिरहेको र यो विषयमा अतिरंजनापूर्ण हल्ला चलाइरहेको कसैबाट लुकेको छैन ।
एकथरी मुलुकमा अस्थिरता मच्चाउन सक्रिय दल र नेताहरु पनि अहिलेको प्रकरणमा पर्दा पछाडी र अगाडीबाट समेत मन्त्री लेखकमाथि प्रतिसोधपूर्ण भावना राखेर अघि बढेको देखिन्छ ।
सहकारी प्रकरण, शेरादरबार, अवैध सम्पती जफत, २५ करोड नगद पक्राउ लगायतका ठुला विषयमा कठोर बने । नगद पक्राउको विषयमा तस्कर समुहको शक्ति केन्द्रसितको दौडधुप थियो । तर यी सबै तत्वलाई कानूनी दायरामा ल्याउन सक्रिय र सफल रहे लेखक ।
अहिले राप्रपालगायतका राजावादीहरु पनि लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध नेता लेखकमाथि खनिएका छन् । व्यवस्था नै परर्वतनको सपना देखेका पुर्वराजावादी सर्मथकको योजनामाथि सुरुवातदेखि नै मन्त्री लेखक थावा बोले । सल्वलाएको पुर्वराजावादीमाथि व्यवस्था विरोधी गतिविधी नगर्न लेखकले नियमित मन्तव्य दिइरहे । गएको चैत्र १५ गते राजतन्त्र पुनःस्थापनाको आन्दोलनका नाममा कमाण्डर दुर्गा प्रशाई नेतृत्वको अराजक जत्थाले तोडफोड, आगजनी र लुटपाटलगायतका बितण्डता मच्चाएपछि शान्ति सुरक्षा कायम गर्ने दायित्व बोकेका गृहमन्त्री लेखकले विधिको शासनको पक्षमा कडा कदम चाल्नु स्वभाविकै थियो ।
शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सुरक्षित हुँदा हुँदै आपराधिक गतिविधिका लागि भिडलाई उक्साएका नेताहरु दुर्गा प्रसाई, धवलशमसेर र रविन्द्र मिश्रलाई पक्राउ गरेर कारवाही चलाएपछि आक्रोशित भएको राप्रपाको नेतृत्व पनि यतिखेर गृहमन्त्री लेखकमाथि खनिएको जगजाहेरै छ ।
अराजकता र शहरी विद्रोह मच्चाएर बंगलादेशमा झैं सत्ताकब्जा गर्नेसम्मको सपना देखेका राजावादीहरुको कुत्सीत योजना असफल पारिदिएकोमा पनि राजावादीहरु लेखकलाई स्याबासी दिने कुरै भएन ।
नेता लेखकले पार्टी, सरकार र संसदमा निर्वाह गरेको शसक्त र प्रभावकारी भूमिकाले यही रफ्तारमा निरन्तरता पाइरहेको खण्डमा आगामी दिनमा सरकार र पार्टीकै शिर्षस्थ स्थानको दाबेदार बन्नसक्ने भएले पनि यो पक्षलाई गाँजेकाले उनीहरु पनि नेता रमेश लेखकको व्यक्तित्व धुमिल बनाउन र सकेसम्म राजनीतिक रुपमै आइसोलेसनमा पार्न उद्धत रहेको पनि कसैबाट लुकेको छैन । प्रतिपक्षी दलको विनाआधारको राजीनामा माग्ने विषय केबल प्रतिसोध बाहेक अरु केही होइन भन्ने आम नागरिकले बुझिसकेका छन् ।
२०६४ सालदेखि भिजिट भिसामा वैधानिक रुपले आवागमन गर्न आउने विषयलाई अहिले आएर मानव तस्करीको संज्ञा दिनु मुलुकको छवि अन्तराष्ट्रिय स्तरमा धमिल गराउनु गम्भीर र सोचनिय विषय हो ।
(यी पंतिकारका निजी विचार हुन् । पंतिकार सुमन पौडेल हाल दुबईमा बस्नुहुन्छ ।)