Skip to content
LAXMI SUNRISE BANK

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

अर्थ सरोकार

काठमाडौँ। भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडीलाई एक-एक लाख रुपैयाँले सम्मानित गरेको हो ।

अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताइन् । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनले जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गरिन् । जातीय विभेदको केही अवशेषहरु अहिले पनि रहेको बताउँदै उनले सामुहिक प्रयासबाटै विभेद हटाउनुपर्नेमा जोड दिईन् । संविधानले जातीय विभेदलाई अपराधजन्य गतिविधिको रुपमा व्याख्या गरेको र २०६२/६३ सालपछि जातीय विभेद घट्दो क्रममा रहेको उनले बताईन् ।

यस्तै, नगर उपप्रमुख चित्रसेन अधिकारीले चुनौती र संघर्षको बाबजुद सामाजिक रुपान्तरणको लागि अन्तरजातीय विवाहले ठुलो भूमिका खेलेको बताए । अहिले पनि अन्तरजातीय विवाह गर्नुहुन्न भन्ने सोच पूर्ण रुपमा नहटेको बताउँदै उनले यसलाई क्रमशः चिर्दै जानुपर्ने धारणा राखेका थिए ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका-१६ का करण योगी र दिया रामदाम, भरतपुर-२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर, भरतपुर-११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, भरतपुर-६ का सुमन परियार र सिमा लामा परियार, रुपेश भुजेल र अस्मिता विक, भरतपुर-२७ का अशोक परियार र आरती महतो, भरतपुर-२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर-१६ का सरोज सुनार र सोममाया घले सुनार, भरतपुर-१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर-२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर-१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर-२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर-१२ का मनिष थापा र कुसुम विश्वकर्मा रहेका छन् ।

महानगरले यसअघि आव २०७७/७८ मा तीन जोडी, आव २०७८/७९ मा तीन जोडी, आव २०७९/८० मा सात जोडी र आव २०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK